पर्यटक आगमनमा नयाँ रेकर्ड, एक महीनामा एक लाख १७ हजारभन्दा बढी भित्रिए



काठमाडौं,कात्तिक १६ । सन् २०२३ को अक्टुवरमा एक लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अक्टुवरमा १ लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । एक महीनामा नेपाल घुम्न आउने पर्यटकको संख्यामा यो हालसम्मकै उच्च हो ।

बोर्डको तथ्यांक अनुसार गत वर्षको अक्टुवरमा ५२ हजार १२१ जना पर्यटक नेपाल आएका थिए । गत वर्षको अक्टुवरको तुलनामा यो वर्षको अक्टुवरमा १२५ प्रतिशतले पर्यटकको आगमन बढेको छ । 

अक्टुवरमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका हुन् । यस्तै अमेरिकाबाट १४ हजार ८७९ जना, संयुक्त अधिराज्य (यूके) बाट ८ हजार २१७ जना, चीनबाट ६ हजार ८८०, फ्रान्सबाट ५ हजार २७१ जना, अष्ट्रेलियाबाट ६ हजार ७५, बंगलादेशबाट ४ हजार २९२, इटालीबाट २ हजार ४६७, श्रीलंकाबाट २ हजार ५०७ र जर्मनीबाट ५ हजार ९१६ पर्यटक नेपाल भित्रिएका छन् । 

नेपालमा दशैंतिहारको बेलामा पर्वत आरोहण र ट्रेकिङको लागि राम्रो हुँदा पर्यटक आगमन बढ्दै गएको देखिन्छ । सन् २०२२ को अक्टुवरमा ५२ हजार १२१ र सन् २०२१ को अक्टुवरमा १५ हजार ७१५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्