सर्वाधिक पर्यटक आगमन



काठमाडौं,कात्तिक १६ । सन् २०२३ को अक्टोबर महिनामा हालसम्मकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाई मार्गबाट अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका हुन् ।

एक महिनामा नेपाल भित्रिएको पर्यटकको उक्त सङ्ख्या इतिहासकै सर्वाधिक रहेको बोर्डले जनाएको छ । यसअघि सन् २०१९ को अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए । त्यस्तै सन् २०२० को अक्टोबरमा एक हजार ८३१, सन् २०२१ को अक्टोबरमा १५ हजार ७१५ र सन् २०२२ को सोही अवधिमा ५२ हजार १२१ पर्यटक नेपाल आएको बोर्डको तथ्याङ्कले देखाएको छ । 

बोर्डका अनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्म नेपाल भित्रिने पर्यटकको सङ्ख्या झन्डै नौ लाख पुगेको छ । जनवरीदेखि अक्टोबरसम्म आठ लाख ९९ हजार ६६८ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ र अगस्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार १२ र अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल आएका छन् ।

अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट आठ हजार २१७, चीनबाट छ हजार ८८०, अस्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार ९१६, फ्रान्सबाट पाँच हजार २७१, बङ्गलादेशबाट चार हजार २९२, श्रीलङ्काबाट दुई हजार ५०७ र इटलीबाट दुई हजार ४६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्