हेटौंडामा बृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी



काठमाडौं,कात्तिक १६ । बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा खेलकुद तथा व्यापार महोत्सव हुन लागेको हो ।

बिहीबार जिल्ला खेलकुद विकास समितिले हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले महोत्सवका लागि हेटौंडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त भइसकेको र आवश्यक शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयबाट सहयोग प्राप्त हुने बताए । उनले मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना हुने बताए । उनका अनुसार महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उधान समेत राखिनेछ । महोत्वसमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्