गोदावरी फूल मेलाः ३ दिनमा ५२ लाख बढीको कारोबार

काठमाडौँ,कात्तिक १६ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ मंगलवारबाट ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तेस्रो दिन मेलामा अवलोकनकर्ताको घुइँचो बढेको छ । मेलामा नेपाल सरकार कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालयका सचिब डा. गोबिन्द शर्माले पनि मेला अबलोकन गरेको थिए । उनले मेलामा गमला तथा फूलका बिरुवा खरिद गरेको थिए ।
फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा कार्तिक १४ गतेबाट सुरु मेला कार्तिक १८ गते (शनिवार) सम्म चल्नेछ । पुष्प विकास केन्द्र सह आयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ । कृषि विकास बैंक बैंकिङ साझेदार रहको छ ।
पहिलो, दोस्रो र तेस्रो दिन सम्म कुल २१ हजार भन्दा बढीले मेला अबलोकन गरेको र करिब ५२ लाख ४५ हजार रुपैँया बढीको कारोबार गरेको अध्यक्ष मीन बहादुर तामाङले ब जानकारी दिए । बिगतमा ४ दिने मेला हुने गरेकोमा यस वर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना हुने छ ।
प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल रहेका छन् । हाल नेपालमा ४८ जिल्लामा करीब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको फ्यानको तथ्याकं छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढी जनशक्ति रोजगारमा संलग्न छन् । यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षो आयोजकले गरेको छ ।
मेलाको थप आकर्षणहरुमा यस बर्ष सेवा कोकोपिटद्वारा प्रायोजित हरेक दिन बिक्री हुने गेट टिकट नंम्बरको आधारमा सोहि दिन बेलूकी लक्की ड्र गरी बिजेता हुन सफल एक जना मेला अवलोकन कर्ताहरुलाई गमला सहितको ५ वटा आकर्षक गोदावरी फूलको बिरुवा र ५ किलोको सेवा कोकोपिट उपहार प्रदान गरिने कार्यक्रम अनुसार २०८० कार्तिक १५ गतेको बिजेता टिकट नं.१९१७ रहेको जानकारी दिएको छ ।