तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

काठमाडौं,कात्तिक १७ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ ।
उनले भने, “तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने काम भइरहेको छ ।”
उनले सन् २०२४ सम्ममा सूचीकृत गर्ने तयारी अनुसार युनेस्कोले पठाएको जवाफ अनुसार तयारी गरेर आगामी विश्व सम्पदा सम्मेलनमार्फत थप प्रक्रिया अघि बढाइने बताए ।