सहमतीय सरकार बनाउन लागिपरेको छु : मुख्यमन्त्री कार्की

विराटनगर,कात्तिक १७ । कांग्रेसका आठ सांसद लिएर एमालेको साथमा बहुमतको सरकार निर्माण गरेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको र चाँडै सरकार विस्तार हुने बताएका छन् । प्रदेशलाई बजेट शून्य हुनबाट रोक्न प्रतिस्थापन विधेयक ल्याउनुपर्ने र त्यसलाई पारित गर्न पनि सहमतिको सरकारको आवश्यकता रहेको उनको भनाइ छ ।
‘प्रतिपक्षमा कांग्रेस धेरैपटक बस्यो, अहिले सत्तामा छ, पहिले सत्तामा भएका साथीहरू विपक्षमा हुनुहुन्छ, मेरो चाहना प्रदेशमा विपक्षीरहित सर्वदलीय सहमतीय सरकार बनोस्, सबैजना विकासमा जुटौं भन्ने हो ।’
वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको स्पष्ट पार्दै उनले कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको बताए ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताए । कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उनको भनाइ छ । कोशी प्रदेशको सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने दाबी उनले गरे ।