भिजिटमा ओमान जानेको भिसा ‘वर्किङ’मा परिवर्तन नहुने

काठमाडौं,कात्तिक १७ । भिजिट भिसामा ओमान जानेले भिसा परिवर्तन गरी ‘वर्किङ भिसा’ बनाउन नपाउने नियम लागू भएको छ ।
यसअघि नेपालबाट भिजिट भिसा लिएर ओमान जाने र त्यहाँ गएपछि वर्किङका रूपान्तरण गर्ने क्रम बढेको थियो, जसले गर्दा श्रमिकहरू समस्यामा पर्दा तथा मृत्यु र अंगभंग हुँदा सरकारी निकायबाट कुनै सुविधा नपाउने अवस्था थियो । ओमानस्थित नेपाली दूतावासले भिजिट भिसालाई वर्किङमा रूपान्तरण हुन नसक्ने व्यवस्था लागू भएको जानकारी दिएको हो । उक्त व्यवस्था २०२३ अक्टोबर ३१ देखि कार्यान्वयनमा आइसकेको दूतावासले बताएको छ ।
अब कसैले ओमानमा भिजिट भिसामा पुर्याएर रोजगारी दिलाउँछु भनेर आश्वासन दिएमा विश्वास नगर्न र यस्ता कार्यप्रति सचेत रहन समेत दूतावासले प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको छ । केही समययता ओमानमा राम्रो रोजगारी पाइने भन्दै पर्यटक भिसामा नेपाली युवालाई लिएर ठूलो रकम असुल गर्ने गिरोह सक्रिय भइरहेको थियो ।