मधेश प्रदेशका दशगजा क्षेत्रका सीमास्तम्भ मर्मत शुरू



जनकपुरधाम,कात्तिक १७ । सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशका आठओटै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनर्निर्माण, मर्मत सम्भार र पुन:स्थापना शुरू गरेको छ । बिहीवार धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ जटही नाका नजिक रहेको सीमास्तम्भ नं २८५/४ बाट मर्मतसम्भार शुरू गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।

प्रदेशका आठ जिल्लामा रहेका चार हजारभन्दा बढी स्तम्भमध्ये पहिलो चरणमा नेपाल पक्षबाट बिजोर नम्बरका एक हजारभन्दा बढी सीमास्तम्भको आवश्यकतानुसार पुनर्निर्माण, मर्मतसम्भार र पुन: स्थापनाको काम गरिने शाहको भनाइ छ ।

विसं २०७७ साउन १९ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार बनाइएको ‘सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निर्माण, मर्मतसम्भार र पुन:स्थापनासम्बन्धी मापदण्ड २०८०’ बमोजिम सीमास्तम्भको पुनर्निर्माण, मर्मत सम्भार र पुन:स्थापनाको काम शुरू गरिइएको उनको भनाइ छ । शाहले भने, ‘यस कार्यले सीमाको संरक्षण हुनुका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल—भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्म रूपमा अध्ययन गर्न सघाउ पुग्नेछ । यस कार्यमा स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौं ।’

त्यसैगरी भारतीय सीमा सुरक्षा बल नं ४८ बटालियनका डेपुटी कमान्डर सन्तोषकुमार निमोरियाले दुई देशका सरकारले गरेका निर्णय र समझदारीअनुसार आफूहरू सीमा सुरक्षाको संवेदनशीलताबारे गम्भीर रहेको बताए । नेपालले बिजोर र भारतले जोर सीमास्तम्भको मर्मतसम्भार गर्ने सहमतिअनुसार भारतले पनि आवश्यक कार्य अगाडि बढाउने उनको भनाइ छ । यसबाट सीमास्तम्भको मात्र नभई दुई देशको सुरक्षा, सद्भाव र सीमासम्बन्धी प्राविधिक जटिलता समाधानका लागि पनि सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्