भोटेकोशी बाढीको कहर : सभामुखको आदेश– सबै संयन्त्र उद्धार र राहतमा जुटाऊ !
काठमाडौँ, भदौ १० । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र बेपत्ताको खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले घाइतेको तत्काल उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीडित तथा विस्थापितलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो।
उहाँले विपद्का बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा परिचालन गर्न निर्देशन दिनुभयो। साथै निजी क्षेत्र, गैरसरकारी निकाय तथा नागरिक समाजलाई समेत विपद् व्यवस्थापनमा आवश्यक सहयोग र समन्वयका लागि आह्वान गर्नुभएको छ।
विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको सभामुख अर्यालले जानकारी गराउनुभयो।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ११ गते बिहीबार दिउँसो १ बजे बस्नेछ।

