लाङटाङ लिरुङको उत्तरी क्षेत्रमा हिमपहिरोपछि भोटेकोशीमा भीषण बाढी, फेरि बाढीको जोखिम कायमै
काठमाडौं,भदौ १० । भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीको उद्गमस्थल लाङटाङ लिरुङ हिमालको उत्तरी क्षेत्रमा रहेको खुलेको छ। पछिल्लो समय चीनका वैज्ञानिकहरूले गरिरहेको विश्लेषणअनुसार उक्त हिमालको उत्तरी भेगमा बुधबार बिहान ठुलो हिमपहिरो गएको हो।
चीनमा रहनुभएका नेपालका हिमविज्ञानी मोहनबहादुर चन्दका अनुसार उक्त क्षेत्रमा निकै ठुलो हिमपहिरो पहाडसँगै खसेको देखिएको छ। घटनाको यकिन विवरण प्राप्त गर्न अझै थप अध्ययन र विश्लेषण भइरहेको उहाँले जानकारी दिनुभयो।
हिमपहिरो तिब्बतको ल्हेन्दे खोलामा खस्दा खोला थुनिएको र त्यसपछि विस्फोटक रूपमा भीषण बाढी आएको अनुमान गरिएको छ। उक्त बाढी नेपालको भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको जनाइएको छ।
यसैबीच, हिमपहिरो खसेको क्षेत्रमा अझै तालजस्तो गहिरो खाल्डो रहेको र त्यसमा पानी निरन्तर जम्मा हुँदै गइरहेको बताइएको छ।पानीको मात्रा बढ्दै गएमा फेरि अर्को भीषण बाढी आउन सक्ने सम्भावना कायमै रहेकाले स्थानीय तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

