रसुवा बाढी प्रभावितको उद्धारका लागि नुवाकोट पठाइयो ११ हजार लिटर हवाई इन्धन



काठमाडौँ,भदौ १०— रसुवामा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहत वितरणलाई सहज बनाउन नेपाल आयल निगमले ११ हजार लिटर हवाई इन्धन नुवाकोट पठाएको छ।

निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो कार्यालयले हवाई इन्धन बोकेको ‘रिफ्युलर’ गाडी नुवाकोट पठाएको हो। डिपो कार्यालयका प्रमुख प्रदीपकुमार यादवले प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणका लागि हेलिकप्टर सञ्चालन सहज बनाउन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा इन्धन पठाइएको जानकारी दिए।

सामान्यतया ‘रिफ्युलर’ गाडी विमानस्थल परिसरभित्र मात्र सञ्चालन गर्ने अनुमति हुने भए पनि आपतकालीन अवस्था उत्पन्न भएकाले नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनासँग समन्वय गरी नुवाकोट पठाइएको निगमले जनाएको छ।

नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरलाई इन्धन भर्न सहज होस् भन्ने उद्देश्यले उक्त इन्धन पठाइएको यादवले बताए। निगमका अनुसार नुवाकोटस्थित सेनाको ब्यारेकसम्म रिफ्युलर पुग्न नसकेको अवस्थामा गाडी धादिङको गजुरीस्थित ब्यारेकमा राखिनेछ।

इन्धन बोकेको गाडी नेपाली सेनाका दुई जना प्रतिनिधि तथा निगमका तीन जना प्रतिनिधिको सुरक्षा र रोहवरमा पठाइएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्