चीनतर्फबाट आएको भीषण बाढीले तहसनहस : रसुवा, नुवाकोट र धादिङमा पुलदेखि बजारसम्म बगायो



नुवाकोट,भदौ १० । चीनतर्फबाट भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति पुर्‍याएको छ। बाढीले बजार, बस्ती, झोलुङ्गे तथा पक्की पुल र सडक संरचनामा व्यापक क्षति पुर्‍याएको विवरण प्राप्त भएको छ।

रसुवाको टिमुरे, स्याफ्रुवेशी बजार, बेत्रावती बजारलगायतका स्थानमा ठूलो धनजनको क्षति भएको छ। नुवाकोटमा त्रिशूली नदीमा रहेका झोलुङ्गे तथा पक्की पुलहरू बगाएका छन् भने त्रिशूली बजार, ढुंगे, देवीघाट बजारलगायतका बस्तीमा समेत क्षति पुगेको छ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ र १ जोड्ने झोलुङ्गे तथा पक्की पुल बाढीले बगाएको छ भने केही भवनमा पनि क्षति पुगेको छ। बैरेनी बजार डुबानमा परेको छ।

यस्तै, गजुरी गाउँपालिका वडा नम्बर २ फूर्केखोलामा रहेको पृथ्वी राजमार्गलाई जिल्ला सदरमुकाम धादिङवेशीसँग जोड्ने मलेखु पक्की पुल बगाएपछि धादिङवेशीबाट पृथ्वी राजमार्गतर्फको आवतजावत बन्द भएको छ।

बाढीबाट भएको क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्