बाढीले नुवाकोटमा क्षति, कारागारका कैदीबन्दी सुरक्षित स्थानमा स्थानान्तरण



नुवाकोट,भदौ १० । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेको छ। बाढीले विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन तथा नेपाल प्रहरीको सुरक्षा एकाइको भवनमा क्षति पुर्‍याएको छ।

कारागार क्षेत्रमा समेत बाढीको आंशिक प्रभाव परेको जनाइएको छ। जोखिमलाई मध्यनजर गर्दै कारागारमा रहेका कैदीबन्दीलाई सुरक्षित ब्लकमा स्थानान्तरण गरी राखिएको छ।

बाढीका कारण विदुर नगरपालिका–५ स्थित देवीघाट बजार आसपासको क्षेत्रसमेत प्रभावित भएको छ। त्यस्तै, विदुर नगरपालिका–१ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासका क्षेत्रमा पनि बाढीको प्रभाव परेको छ।

बाढीबाट प्रभावित क्षेत्रको क्षतिको विवरण संकलन तथा अवस्थाबारे स्थानीय प्रशासन र सुरक्षा निकायले अनुगमन गरिरहेका छन्। प्रभावित क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्