जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने सरकारको निर्णय



काठमाडौं,कात्तिक १८ । नेपाल सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा ५–५ करोड रुपैया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट पठाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्प पीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार तथा उपचारका कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने बैठकको निर्णय छ । सुरक्षा फौजबाट विपद् उद्धारका लागि आवश्यक सामाग्री सहितका जनशक्ति खटाइएकोमा सशस्त्र प्रहरी बल नेपालबाट खोज उद्धार तथा व्यवस्थानको लागि विशेष तालिम प्राप्त टोली पठाइनेछ । विपद्मा खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक केन्द्र तोकी आवश्यकता अनुसार जनशक्ति र साधन श्रोत परिचालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्