भूकम्प पीडितलाई एमालेले एक करोड रुपियाँ सहयोग गर्ने
काठमाडौं,कात्तिक १८ । नेकपा (एमाले) ले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
शुक्रबार राति गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलोमात्रामा धनजनको क्षति भएकोले पीडितहरुको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
पार्टी पङ्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न एमालेले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको नेता ज्ञवालीले जानकारी दिए । जाजरकोट र रुकुमपश्चिमका संयौं नागरिक पीडित भइरहँदा सिङ्गो मुलुकको सहयोगको खाँचो रहेको बताउँदै उनले सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे ।

