शुक्र अस्तका कारण दसैँ मनाउन हुँदैन भन्ने प्रचार शास्त्रसम्मत होइन : पञ्चाङ्ग निर्णायक समिति
काठमाडौँ,असोज ३० । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएका कारण दसैँ मनाउन नहुने भनी सामाजिक सञ्जालमा भइरहेको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा बृहस्पति अस्त भएका कारण दसैँ मनाउन कुनै बाधा नपर्ने स्पष्ट पार्नुभएको छ ।
शुक्र र बृहस्पति अस्त भएका बेला नित्य तथा नैमित्तिक कर्म गर्न शास्त्रीय रूपमा कुनै बन्देज नरहेको समितिले जनाएको छ । तर, ती ग्रह अस्त भएका बेला कुनै विशेष कामना राखेर गरिने कर्म भने गर्न नहुने शास्त्रीय मान्यता रहेको समितिको भनाइ छ ।
समितिले सामाजिक सञ्जालमा फैलिएका हल्लाका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यस्ता विषयमा कुनै निष्कर्षमा पुग्नुअघि धर्मशास्त्रका जानकार तथा समितिका पदाधिकारीसँग सरसल्लाह र परामर्श गर्न पनि समितिले अनुरोध गरेको छ ।

