भूकम्प प्रभावित ३ जिल्लामा टेलिकमको निःशुल्क सेवा, इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर पनि सक्रिय



काठमाडौं,कात्तिक १९ । सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा प्रदान गर्ने निर्णय गरेको हो । जसअनुसार यी तीन जिल्लामा रहेका टावरमार्फत प्रवाह हुने जुनसुकै ठाउँबाट जारी भएका टेलिफोनमा पनि निःशुल्क टेलिफोन र एमएमएस गर्न सकिने छ । भूकम्प प्रभावित क्षेत्रमा टेलिकमले पाँच दिनसम्म निःशुल्क सिम पनि उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा नेपाल टेलिकमले आफ्नो कर्तव्यबोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमितरुपमा सुचारु राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि टेलिकमले स्रोत व्यक्ति पनि तोकेको छ । जसअनुसार प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५११०९९५५) र ओमप्रकाश ढकाल (९८५१३४७८७०)सँग सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ ।

त्यस्तै, सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी)लाई सक्रिय बनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री  शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले क्लष्टर सक्रिय बनाउने निर्णय गरेको हो । 

बैठकले भूकम्प प्रभावित क्षेत्रहरुमा टेलिफान तथा इन्टरनेट सेवा सुचार गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सेवा प्रदायकहरुले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दुर सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहने रहने पनि बैठकले गरेको छ । बैठकले भूकम्प प्रभावित क्षेत्रहरुबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ । बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्