विजेता ओमानलाई प्रधानमन्त्री प्रचण्डद्वारा ट्रफी प्रदान



काठमाडौं,कात्तिक १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गरेका छन् ।

आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । क्रिकेट मैदानमा पुगेर प्रधानमन्त्री प्रचण्डले उपाधि विजेता ओमानलाई ट्रफी प्रदान गरेका हुन् ।

निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो । बाइस रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमा कुशल भुर्तेलको विकेट गुमाए । ओमानका लागि बिलाल खानले दोस्रो बल डट राखे भने तेस्रो र चौथो बलमा नेपालले एक/एक रन बटुले । पाँचौ र छैँटौ बलमा कुशल मल्लले लगातर दुई चौका प्रहार गरे पनि नेपालको जीतका लागि त्यो पर्याप्त भएन र उपाधि ओमानले जित्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्