भारतले दियो १६ करोडको राहत सामग्री



नेपालगन्ज,कात्तिक १९ । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० कराेड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आईतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् । 

एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको खेप ढुवानी गरेको हो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसका लागि चिकित्सा उपकरणहरू समावेश छन् । 

राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको राजदुत श्रीवास्तवले बताए । 

प्रतिक्रिया दिनुहोस्