भूकम्पबारे पूर्वसूचना दिने उपकरण चलाउन समस्या



काठमाडौं,कात्तिक २० । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले २०७२ सालको भूकम्पपछि भूकम्प जानुभन्दा करिब ३० सेकेन्डअघि पूर्वसूचना दिने प्रणालीका साथै सेन्सर देशका विभिन्न स्थानमा स्थापना गर्‍यो । तर सो प्रणाली हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । चीन सरकारको सहयोगमा नास्टले हालसम्म देशभरका ६५ स्थानमा भूकम्प पूर्वसूचना प्रणाली (सेन्सर) जडान गरेको छ ।

नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले भूकम्प गएको स्थान हेरेर काठमाडौँ नजिक भए ३० सेकेन्डअघि र टाढा भए १०/२० सेकेन्डअघि सेन्सरमा तरङ्ग आउने र भूकम्पको पूर्वानुमान गर्न सकिने जानकारी दिए । उनले भने, “यो प्रणाली २०७२ को भूकम्पपछि चीन सरकारको सहयोगमा नास्टमा स्थापना भएको हो । यस प्रणालीले अहिले पनि काम गरिरहेको छ । तर भनेबमोजिम हामीले हालसम्म पनि यसबाट पूर्वानुमानको काम गर्न सकेका छैनौँ ।” उनका अनुसार यो प्रविधि पूर्णरूपमा सञ्चालनमा आएपछि पहिलो तरङ्गको विश्लेषण गर्दै दोस्रो तरङ्ग आउनुभन्दा पहिला मानिसलाई यसको जोखिमबाट बचाउन सकिने प्रविधि हो ।  

“हामीले यस सूचना प्रणालीको सूचना स्मार्ट फोन र मोबाइल एपमा प्रत्यक्ष जानकारी दिन नास्टले नेपाल टेलिकम र एनसेलका प्रमुखसँग छलफल अघि बढाएको थियो,” सचिव ढकालले भने, “चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाले निःशुल्क दिएको भूकम्प पूर्वसूचना प्रविधिलाई नास्टले काठमाडौँका विभिन्न चार ठाउँमा जडान गरेको छ ।” उनका अनुसार यस प्रविधि काठमाडौँ बाहिर पोखरादेखि रौतहटसम्म विभिन्न स्थानमा भूकम्प पूर्वसूचना प्रणाली (सेन्सर) जडान भएको थियो । हाल नास्टले देशभर कुल ६५ स्थानमा सेन्सर जडान भएका छन् ।

“यस प्रणालीलाई पूर्ण रूपमा सञ्चालन गर्न तथा पूर्वी नेपालमा सेन्सर राख्न सरकारसँग दुई वर्षअघि १० करोड रुपियाँ बजेट मागेका थियौँ । हालसम्म यो प्रणाली सञ्चालन गर्न प्रयाप्त बजेट नहुँदा सञ्चालन हुन नसकेको हो,” उनले भने, “यस विषयमा प्रधानमन्त्रीले समेत चासो देखाएका छन् । छिट्टै नास्टका पदाधिकारीसहितको टोलीले प्रधानमन्त्रीलाई भेट्दै छौँ । यो प्रणाली पूर्ण रूपमा सञ्चालन गर्नेतर्फ सरकारको पहल होला भन्ने आशामा हामी छौँ ।” नास्टका प्रविधि सङ्काय प्रमुख ईश्वर बज्राचार्यले सो प्रणालीमा केही प्राविधिक समस्या आएपछि चार वर्षदेखि सो प्रणाली सञ्चालनमा ल्याउन नसकिएको जानकारी दिए । उनले ठुलो रकम लाग्ने भएकाले नास्टले यसको मर्मत तथा प्रविधिको देशभर विस्तार गर्न नसक्ने भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

‘सूचना प्रविधिको प्रयोग गरौँ’

यसैबिच वियोन्ड एपोजीका प्रमुख कार्यकारी अधिकृत सुदीपविक्रम अधिकारीले भूकम्प प्रभावित क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरेर मानवीय क्षति कम गर्न सकिने बताएका छन् । उनले भूकम्पमा विश्वका अन्य विकसित देशमा जस्तै नेपालको विकट भौगोलिक भूभागमा ड्रोन तथा अस्थायी रेडियोबाट सूचना तथा औषधी पुर्‍याउन सकिने जानकारी दिए ।

“धावन मार्गबिना उड्ने साना ड्रोनलगायतका उपकरणको प्रयोग गरेर सम्बन्धित सदरमुकामबाट भूकम्प प्रभावित क्षेत्रमा औषधी तथा खाद्य सामग्री सजिलै पठाउन सकिने उनले बताए । यस्ता उपकरणले दुई किलोभन्दा माथिका सामग्री सहजै बोक्न सक्छन् ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस्ता उपकरण भूकम्प प्रभावित क्षेत्रको क्षति मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलनमा समेत प्रयोग गर्न सकिने जानकारी दिए । उनले भने, “भूकम्प प्रभावित क्षेत्रमा ड्रोनका सहायताले माटोमुनि परिएका मान्छेको मुटुको धड्कन नाप्न सक्ने रोबोटसमेत पठाउन सक्छौँ । यसका साथै सर्प जस्तो उपकरण सानो दुलोभित्र समेत पस्न सक्ने ठाउँमा पठाएर मानवीय क्षति कम गर्न सक्छौँ । विदेशमा यस्ता प्रविधि प्रयोगमा आएका छन् ।”

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) का महासचिव चिरञ्जीवी अधिकारीले प्राकृतिक विपतका समयमा ड्रोनको प्रयोग प्रभावित क्षेत्रको अनुगमन तथा म्यापिङका लागि गर्न सकिने बताए । “विश्वभरका एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि निःशुल्क सेवा उपलब्ध रहेको छ । यसको प्रयोग गर्न सकिन्छ । यसबाहेक अन्य विभिन्न सामाजिक सञ्जालले प्रयोगकर्ता सुरक्षित रहेको वा नरहेको भन्ने सुविधासमेत ल्याएका छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्