चोरसंग प्रतिकार गर्दा चार घाइते



महोत्तरी,कात्तिक २० । महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारामा राति एक घरमा चोरी भएको छ । आइतबार राति रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा चार–पाँच जनाको  समूहमा आएका व्यक्तिले चोरी गरेको हो । लुटेरा समूहको प्रतिकारमा उत्रँदा घरका चार जना घाइत समेत भएका छन् ।

लुटेराको समूह घरभित्र प्रवेश गरी घरका सदस्यहरुलाई कुटपिट र बन्धक बनाई लाखौंको धनमाल लुटेका छन् ।भुवनेश्वर चौधरीका छोरा जय किशोर चौधरीका अनुसार राति करिब १२ः३० बजे चार/पाँच जनाको समूहमा आएका लुटेराले घरका सबै सदस्यलाई नियन्त्रणमा लिँदै कुटपिट गरेको थिए भने घरबाट लाखौंको धनमाल लुटेर लगेका छन् ।

लुटेरा समूहको कुटपिटबाट आफूसहित बुबा भुवनेश्वर चौधरी, आमा शैल देवी, श्रीमती सीमा चौधरी घाइते भएको छोरा जय किशोरले जानकारी दिए । लुटेरा समूहले नगद एक लाख, ४० तोला सुन, दुई किलो चाँदी, आइफोनसहित गरी ७० लाखभन्दा बढी लुटपाट गरेर लगेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लुटेराको समूह घर भित्र प्रवेश गरेर घरका सदस्यहरुलाई नियन्त्रणमा लिँदै लाखौं रकम लुटेर लगेको सूचना प्राप्त भएको जानकारी दिए। प्रवक्ता गिरीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

घाइतेहरुको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारपछि घर फर्किसकेको प्रवक्ता गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्