हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला



कञ्चनपुर,कात्तिक २० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला परेको छ । 

सोही वडाका ६३ वर्षीया नारुदेवी जोशी (नन्दादेवी) को शव फेला परेको हो । हिजो मध्याह्न घाँसका लागि स्याउला लिन जङ्गल जानुभएकी जोशी घर नफर्केपछि खोजतलास गर्ने क्रममा हत्या गरिएको अवस्थामा आज बिहान ४ बजेतिर शव फेला परेको वडाध्यक्ष प्रताप धामीले जानकारी दिए । 

उनका अनुसार घटनाको प्रकृति हेर्दा वृद्धाले लगाएकाे सुनको गहना लुटपाटका लागि हत्या भएको जस्तो देखिएको छ । वृद्धाले लगाएको एक तोलाको मुन्द्रा, दुई आनाको तिलहरी, दुई आनाको नथियालगायत गरी डेढ तोलाको गरगहना लुटेर लगिएको छ । 

“नाक रक्ताम्य पारेर गहना लुटिएको छ” वडाध्यक्ष धामीले भने, “सुनको गहना लुट्नकै लागि वृद्धाको हत्या गरेर जङ्गलमा फालिएको हुनसक्छ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्