नेकपा एसले भूकम्प प्रभावितलाई २५ लाख दिने



काठमाडौं,कात्तिक २० । नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ ।

सोमबार बसेको नेकपा एसको सचिवालयको बैठकले केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरुबाट सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिए । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरु एवम् राजनीतिक नियुक्तिमा जानुभएका व्यक्तिहरुबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उनले बताए ।

बैठकले भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्