तीनपिप्ले-रानीपौवा सडकखण्डका लागि १ अर्ब ३३ करोड रकम सुनिश्चित, कहिले लाग्छ ठेक्का?
नुवाकोट,कात्तिक २१ । तीनपिप्ले-रानीपौवा सडकखण्डका लागि १ अर्ब ३३ करोड रकम सुनिश्चित भएको छ।
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतका स्वकीय सचिव उत्तम पाठकले यस सम्बन्धि सामाजिक संजालमा उल्लेख गर्दै केहि दिनमा ठेक्का लाग्ने समेत बताएका हुन् ।
उनले आन्तरिक स्रोतबाट पहिलो चरणमा तीनपिप्ले रानीपौवाको सडकमात्र विस्तार हुने बताएका छन् । थप रानीपौवादेखि पिपलटार सडकको निर्माणका लागि भने भारतकै एक्जिम बैकबाट ऋण लिइने उल्लेख छ।
स्वकीय पाठकले भनेका छन् -‘तिनपिप्ले – रानिपौवा सडकखण्डको लागि १अर्ब ३३ करोड रुपैयाको श्रोत सुनिश्चितता भएको छ । ४-५ दिन ठेक्का निकाल्न समय लाग्नेछ । प्रकृयागत ढिलाइ भएपनि अब नेपालमानै चलन चल्तिमा रहेको उच्च गुणस्तरको सडक निर्माण कार्य हुनेछ ।’
विगतमा लथालिंग यस सडकका कारण स्थानीयले ओहोरदोहोरमा कष्ट बेहोरिरहेका छन् । बालाजुदेखि मुड्खुसम्म कालोपत्र गरिए पनि त्यसपछि खाल्डाखुल्डी व्यापक छ । पटकपटक निर्माणको आशा गरेका यस सडकखण्ड निर्माण हुने नहुने अन्योलमा स्थानीयले गुजारा गर्दै आएका छन् ।

