तिहारको किनमेलले चटारो
काठमाडौं,कात्तिक २२ । तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । आगामी शनिबारदेखि तिहार सुरु भए पनि अहिलेदेखि नै आवश्यक पर्ने सामानको किनमेल सुरु हुन थालेको हो । मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, लगनखेल, बानेश्वर, कोटेश्वर, ठिमीलगायतका बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड लाग्न थालेको छ । विशेष गरी तिहारका लागि आवश्यक पर्ने, माटोका पाला, झिलिमिली बत्ती, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, अमला, भाइमसला, कपडाको किनमेल बढ्न थालेको व्यवसायीको भनाइ छ । सडकपेटीदेखि ठुला ठुला व्यापारिक महलमा तिहारका सामान बिक्रीका लागि राखिएको छ । केही दिनयता किनमेलको चहलपहल बढे पनि व्यापारमा भने उत्साह नभएको न्युरोडका मसला व्यापारी अमृत रौनियारले जानकारी दिए । तिहार सुरु हुन अझै तीन दिन बाँकी छ, अहिले फाट्टफुट्ट व्यापार बढे पनि विगतजत्तिको व्यापार बढ्न नसकेको उनको भनाइ छ । गत वर्षको तुलनामा तिहारमा खपत हुने भाइमसलाको मूल्य १० प्रतिशतले वृद्धि भएकाले पनि व्यापार विगतका वर्ष जस्तो उत्साहपूर्वक बढ्न नसक्ने अनुमान गरिएको उनको भनाइ छ । न्युरोडका मखन टोलस्थित मसला पसलमा सामान किन्ने ग्राहकको भिडभाड लाग्न थालेको छ । ड्राई फुट्स तिहारमा मात्र बढी खपत हुने भएकाले पनि अन्य समयको तुलनामा व्यापार पनि बढ्ने गर्छ । तिहारमा खपत हुने भाइमसला बाहिरी मुलुकबाट आयात हुने गर्छ । व्यवसायीका अनुसार बजारमा काजु प्रतिकेजी एक हजार पाँच सय रुपियाँ, किसमिस प्रतिकेजी पाँच सय, पेस्ता प्रतिकेजी दुई हजार एक सय, ओखर प्रतिकेजी पाँच सय, मिस्री १८०, नरिवल प्रतिकेजी ४५०, दालचिनी प्रतिकेजी सात सय, सुकमेल प्रतिकेजी दुई हजार पाँच सय रुपियाँ मूल्य रहेको छ ।
माटोका पालासमेत बिक्रीमा राखिएको छ । माटोका पाला प्रतिदर्जन ४० देखि ५० रुपियाँमा बिक्रीका लागि राखिएको छ । तिहारका लागि भक्तपुरको विभिन्न ठाउँबाट व्यवसायीले सयपत्रीका माला न्युरोडमा ल्याएर बिक्री गर्न थालेका छन् । तिहारमा सेलरोटी पकाउनका लागि कराहीसमेत बढी बिक्री हुने गर्छ । भक्तपुरका हीराकाजी वनमालाले तीन दिनअघिदेखि गाउँ गाउँमा गएर माला खरिद गरेर बजारमा ल्याएर बिक्री गर्ने गरेको उनले जानकारी दिए । दिनमा एक सयदेखि डेढ सय सङ्ख्यामा माला बिक्री गर्ने गरेको उनले जानकारी दिए । बजारमा मखमलीमाला प्रतिगोटा ३० रुपियाँदेखि ५० रुपियाँसम्म बिक्री भएको उनको भनाइ छ । मखमली माला लामो समयसम्म राख्दा नओइलाउने भएकाले पनि गाउँ गाउँमा उत्पादन भएका माला बजारमा आउन थालेका हुन् । तिहारमा बढी खपत हुने ढाकाटोपी पनि बिक्रीका लागि राखिएको छ । तिहारमा दाजुभाइलाई टीका लगाएर दिदीबहिनीले ढाकाटोपी लगाइदिने भएकाले तिहारमा यसको खपत बढी हुने गर्छ । असनका ढाकाटोपी व्यवसायी दिनेश गुप्ताले तिहारमा बढी खपत हुने भएकाले ढाकाटोपी बिक्रीका लागि राखिएको जानकारी दिए । तिहार नजिकिँदै गर्दा टोपीको व्यापार बढ्दै गएको उनको भनाइ छ । बजारमा टोपीको गुणस्तर हेरेर प्रतिढाकाटोपी एक सय रुपियाँदेखि पाँच सय रुपियाँसम्ममा बिक्रीका लागि राखिएको उनको भनाइ छ । उच्च गुणस्तरको ढाकाटोपी भने दुई हजारसम्म पर्ने गरेको व्यवसायीको भनाइ छ । तिहारका बेला पनि दसैँमा जस्तो कतिपय पसलमा सेल र अफरसमेत राखिएको छ । तिहारमा उपहार दिनका लागि कपडासमेत बढी बिक्री हुने गरेको व्यवसायीको भनाइ छ । तिहारका लागि सेलरोटीसमेत बिक्रीका लागि राखिएको छ । प्रतिगोटा २५ देखि ३० रुपियाँमा बिक्रीमा राखिएको छ ।
यस्तै सुनचाँदी पसलमा पनि ग्राहको भिडभाड लाग्ने थालेको छ । लक्ष्मीपूजाका लागि आवश्यक पर्ने सुनका नयाँ गहना र चाँदीका सामान किन्न ग्राहकको भिडभाड लाग्न थालेको हो । बजारमा प्रतितोला सुनको मूूल्य एक लाख १५ हजार रुपियाँ र चाँदी प्रतितोला एक हजार ४०५ रुपियाँ रहेको छ । सुनचाँदीका गहना सबैभन्दा बढी धनतेरसको दिनमा बढी बिक्री हुने गर्छन् । तिहारमा मिठाई पनि बढी बिक्री हुने गर्छ । व्यवसायीले तिहारलाई लक्षित गरेर मिठाई बनाउन सुरु गरिसकेका छन् ।
यसैबिच चिसो बढ्न थालेपछि जाडोका कपडाको व्यापार बढ्न थालेको छ । चिसो दिनप्रतिदिन बढ्न थालेपछि जाडोका कपडाको बिक्री बढ्न थालेको व्यवसायीको भनाइ छ । बजारमा व्यापारीले जाडोलाई लक्षित गरेर सामान ल्याएर बिक्री गर्न थालेका छन् । गोरखापत्रबाट

