नुवाकोट शिवपुरीमा हुने झरना महोत्सवमा गुन्द्रुक, मकै र भटमासको अर्गानिक स्वाद लिन पाइने
नुवाकोट,कात्तिक २२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्दादेवी लप्सेखोला झरना महोत्सवमा गुन्द्रुक, मकै र भटमासको अर्गानिक स्वाद लिन पाइने भएको छ ।
पर्यटकीय गन्तव्य स्थापित गर्न यही कार्तिक २५ गते हुन लागेको लप्सेखोला झरना महोत्सवमा आयोजकले लोकल गुन्द्रुक,मकै र भटमासको साथमा सिस्नो समेत चखाउने तयारी गरिएको हो ।
शिवपुरी गाउँपालिका वडा नम्बर ६ का जनप्रतिनिधि कमल तामाङ (नुवाकोटे टाइगर)का अनुसार शिवपुरी गाउँपालिका वडा नं. ६ को आयोजना तथा समुन्द्रादेवी युवा क्लवको व्यवस्थापनमा हुने महोत्सवमा स्थानीय स्तरका लोकल कुखुराको मासु र ढिडो समेत नवआगन्तुकलाई खुवाउने प्रवन्ध गरिएको छ ।
बाह्र महिना सदावहार सय फिट उचाईबाट झर्ने यस झरनामा काठमाडौको सामाखुसी टोखा हुँदै २४ किलोमीटरको सवारी यात्रामा पुग्न सकिने शिवपुरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठले बताए ।
झरनालाई पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको वडा अध्यक्ष श्रेष्ठले बताए । महोत्सवको सम्पदा संरक्षण दुव:ले प्रचारप्रसारको जिम्मा लिएको छ ।

