बागमती प्रदेशका २७ सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान



काठमाडौं,कात्तिक २२ । बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिबीच बुधबार हेटौँडामा आयोजित कार्यक्रममा विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो ।

निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीले विद्यालय बस खरिद गर्न मन्त्रालयले २७ वटा विद्यालयलाई प्रतिविद्यालय २५ लाख रुपियाँ अनुदान दिने बताउँदै चालु आर्थिक वर्षभित्रमा बस खरिद गरिसक्नुपर्ने बताए । 

अनुदानमा आयात गरिने बसमा भन्सारलगायतका करहरु विद्यालयले छुट पाउने व्यवस्था रहेको छ । निर्देशनालयसँग बस खरिद सम्झौतासँगै अनुदानको ६० प्रतिशत पहिलो चरणमा र बाँकी ४० प्रतिशत बस आयातको अनुज्ञापत्र प्राप्त भएपछि दिइने छ । 

चालु आवका लागि विद्यालयलाई बस खरिदमा अनुदानमा दिन ६ करोड ७५ लाख रुपियाँ विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा विभिन्न जिल्लाका २४ वटा विद्यालयले मात्र बस खरिदवापत अनुदान पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्