शनिल नेपाल पोर्चुगलको राजदूतमा सिफारिस



काठमाडौं,कात्तिक २३ । नेपाली कांग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस भएका छन्  । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गरेको हो ।

राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशिता, सञ्चारलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपालले विभिन्न योजना र नीति निर्माणसँगै रणनीतिक योगदान गर्दै आएका थिए ।

उनले कांग्रेसमा संसद्, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रूपमा परामर्श दिने गरेका थिए । पाल्पामा जन्मिएका नेपाल कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको नेतृत्वदायी भूमिकामा रहेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाटै मानविकी सङ्कायतर्फको अङ्ग्रेजी साहित्य र समाजशास्त्र गरी दुई विषयमा स्नातकोत्तर गरेका नेपालले कानुन शास्त्रका समेत विद्यार्थी हुन।

प्रतिक्रिया दिनुहोस्