भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग



जाजरकोट,कात्तिक २४ । एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उनलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । 

न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँडिन । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै थिइन । मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भनिन, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”

अस्पतालबाट घर झन्डै आधा घण्टाको मात्र बाटो हो । तर सुत्केरीका लागि त्यो पनि हिमाल चढे जस्तै भयो । मीना अलि पर नपुग्दै थर्थरी काँपेर उभिन नसकेर थचक्क बाटामै लडिन । नलगाड नगरपालिका–७, दल्ली भेरी पारिको किनारको बस्ती हो । वरिपरि लहरै भत्केका घर, छेउमा कतै त्रिपाल, कतै झिँजामिजाले टालेका टहरा धमाधम बनाइँदै थिए । भूकम्पको पीडाले थलिएकाले होला । सुत्केरीलाई सघाउन कोही आएनन् । 

घर भत्किएर खण्डहर थियो । जताततै भत्किएकाले नभत्किएको पर्खालको बरन्डाको खाटमा उनी थचक्क बसिन । एकछिन पीडाले मीनाले दाह्रा किटिन, आँखा रसाए । चपक्क आँखा चिम्लेर खाटमा ढलिन । छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी आमालाई के भयो भनेर छेउमा निन्याउरो मुख लगाएर उभिए । सासूले अर्कोपट्टि एक दिनकी छोरी राखिदिइन । सासू सुनिता बादीका अनुसार छोराको शल्यक्रिया गरेकाले त्यति हिँडडुल गर्न सक्दैनन् । अर्को छोरा वैदेशिक रोजगारीका लागि मलेसिया गएको उतै बिरामी परेर उपचार गराउँदै छन् । उनको तेस्रो बच्चा भए पनि भूकम्पको पीडाले थिलथिलो भएको मीनाको शरीरले सुत्केरी व्यथा धान्न सकिरहेको थिएन । बस्न घर छैन, खान अन्न छैन । वरपर सबैले पाल टाँगेर ओत बनाइसके । उनको परिवार भने सुत्केरी बोकेर भत्किनै लागेको घरकै बरन्डामा बस्न बाध्य छ ।

उषा परियारको भने पहिलो बच्चा हो । उनलाई पनि उस्तै पीडा छ । तर श्रीमान्सँगै भएकाले राम्रो आड पाएको उनले बताइन । उषाले मुस्काउन खोज्दै भनिन, “बुढा यहीँ छन्, बोकेर पनि लैजालान् ।”

उनले मीनाको पीडा देखेर बरु उनलाई कसैले बोकेर पु¥याइदिए हुने भनेर पीर पोखिन । एक जना पुरुषले बोक्न खोजे पनि सुत्केरी अवस्थाको फोहोर हुन्छ भनेर बोक्न मानेनन् । श्रीमान् सबिन परियारले श्रीमतीलाई अघि लाउँदै भन्नुभयो, “घर त छैन, भत्कियो, पालमै बसे पनि सुत्करीलाई तातो खुवाउँछु ।”

मीनालाई भने सासूआमाले कहिले ज्वानोको झोल देलिन् र खाउँला भएको थियो । आँगनमा आगो बाल्दै बसाल्न थाल्नुभयो । ग्यास चुलो र भान्साका सामान पनि भूकम्पले ढलेको ढुङ्गा र माटोले किचिएपछि माटोको चुलो बनाएर भात पकाउने गरेका छन् । सुत्केरी महिलाको अवस्था उनको जस्तै भूकम्प गएका स्थानमा दर्दनाक छ ।  

एउटी सुत्केरीलाई बारेकोट क्षेत्रबाट अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चाको ज्यान गयो । अर्की सुत्केरीले बच्चा राम्रै जन्माए पनि अस्पतालमा ज्यान गुमाइन् ।  एक महिनाकी सुत्केरी १९ वर्षीय काजल बिक चिउरी गाउँबाट एक घण्टाको बाटो हिँडेर बच्चाका लागि न्यानो झोला लिन दल्ली पुगिन। उनकी साथी १९ वर्षीया सम्झना बिक पनि एक महिनाको बच्चा काखी च्यापेर चिउरीदेखि हिँडेर स्वास्थ्य सेवा कार्यालय पुगेकी हुन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्