मुगु हत्याकाण्ड : दुई सातापछि दुई अभियुक्त पक्राउ, यस्तो रहेछ हत्या योजना
मुगु,कात्तिक २४ । घटना घटेको दुई सातापछि प्रहरीले मुगुमा एकै परिवारका चार सदस्यको हत्या भएको घटनाको पर्दाफास गरेको छ । घटना धनमाल लुट्नकै लागि दुईजना मिलेर परिवारको हत्या भएको प्रहरीले जनाएको छ । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नम्वर ७ पिना गाउँका गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई प्रहरीले पक्राउ गरेको हो । दुवैले अभियोग स्वीकार गरेका छन् ।
मुगुको छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुगाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको हत्या भएको थियो । १० कात्तिकमा उनीहरूको बीभत्स शव प्रहरीले फेला पारेको थियो । ८ कात्तिकमा हत्या भएको प्रहरीले जनाएको छ । हत्यापछि शाही र बोहोराले गहना तथा नगद लुटेका थिए । ‘श्रीदेवीसँग धेरै सुन लगाउने उनीहरूले देखेका रहेछन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘सोही आधारमा उनीहरूले लुट्ने योजना बनाएको देखिन्छ ।’ श्रीदेवीका श्रीमान् भने विदेशमा थिए । गोर्ख श्रीदेवीका नाता पर्दछन् ।
गत जेठ महिनामै शाही र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने योजना बनाएका थिए । कोहलपुर बस्दै आएका शाहीले गाउँमै गएर सो योजना बनाएका थिए । योजनाअनुसार शाही ५ कात्तिकमा सुर्खेतबाट पिना गएर गोपालको गोठघरमा बसेका थिए । गाउँलेलाई थाहा नहोस् भनेर उनी गोठमा लुकेर बसेका थिए ।
योजनाअनुसार नै उनीहरूले ८ कात्तिकमा हत्या गरेका हुन् । हत्यापछि उनीहरूले साढे दुई तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी, चेक, लालपुर्जा र करिब ५–६ हजार नगद लुटेका थिए । त्यही दिन श्रीदेवी माइतीबाट फर्किएकी थिइन् । हत्यापछि उनीहरू सुर्खेत भागेर बसेका थिए ।
प्रहरीले सोमबार नै गोर्खलाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा गोपाललाई बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई शुक्रबार सार्वजनिक गर्ने प्रहरी तयारी छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले स्थानीय प्रहरीसँग मिलेर अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।

