मंसिर मसान्तभित्र भूकम्प प्रभावितलाई आवासको व्यवस्थापन हुनुपर्छ: कांग्रेस
काठमाडौं,कात्तिक २५ । नेपाली कांग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको व्यवस्थापन हुनुपर्ने सरकारलाई सुझाव दिएको छ।
भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात् कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो।
पुसको जाडोमा पीडितको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको कांग्रेस महामन्त्री थापाले बताए । उनले स्थायी रुपमा सिकाई केन्द्र बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

