आज कुकुर तिहार: स्वभाव अनुसार कुकुरको जिम्मेवारी



काठमाडौं,कात्तिक २६ । यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुरको पूजा गरिँदै छ । कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ । धार्मिक मान्यता अनुसार यमराजको दूतका रूपमा कुकुरलाई पूजा गरिन्छ ।  

आधुनिक युगमा कुकुरलाई सुरक्षाका साथै अपराध अनुसन्धानमा पनि लगाइन्छ । नेपाल प्रहरीले सामान्य अनुसन्धानबाट नसुल्झिने जटिल घटनाको अनुसन्धानमा कुकुरलाई लगाइरहेको छ । त्यसरी अपराध अनुसन्धानमा कुकुरको स्वभाव अनुसार खटाउने गरिएको छ । ठुला, चुलबुले र चकचके प्रवृत्तिका कुकुरलाई लागुऔषधको अपराध अनुसन्धानमा खटाइने गरिएको छ । शान्त स्वभावका कुकुरलाई भागेका मान्छे ‘ट्र्याक’ गर्ने जिम्मेवारी दिइन्छ । 

नेपाल प्रहरीको केनाइन महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक देउती गुरुङले भने, “कुकुको ‘ब्रिड’ अनुसार नै स्वभावको पहिचान गरेर कस्तो तालिम दिने भन्ने निर्धारण गरिएको हुन्छ ।”

प्रहरीले छिमेकी मुलुक भारत, थाइल्यान्ड, बेलायत, अमेरिकालगायतका देशबाट आठ प्रजातिका कुकुरका छाउरा ल्याउने गरेको छ । ती छाउरालाई छ महिना पुगेपछि तालिम दिन सुरु गरिन्छ । विभिन्न जातका कुकुरलाई तीन महिनाको आधारभूत तालिम दिएपछि क्षमता अनुसार वर्गीकरण गरेर अपराध अनुसन्धानमा प्रयोग गरिन्छ । उनका अनुसार थप पाँच जातका कुकुर ल्याइँदै छ । 

नेपाल प्रहरीसँग एक सयभन्दा बढी कुकुर छन् । कुकुरलाई न्यूनतम चार महिनादेखि एक वर्षसम्म तालिम दिने गरिन्छ । कुकुरले निश्चित समय पूरा गरेपछि निवृत्त जीवनसमेत बिताउने गर्छ । एसएसपी गुरुङले पाँचदेखि १० वर्षसम्म कुकुरलाई अनुसन्धान कार्यमा खटाउने गरिएको बताउदै उनले भने, “स्वास्थ्य अवस्था, नश्ल र उमेरका आधारमा कुकुर निवृत्त हुन्छन् ।”

निवृत्त भएका कुकुरलाई लिएर जाने अधिकार तालिम दिने व्यक्तिलाई हुन्छ । उनले लिन नमानेमा नेपाल प्रहरीकै कर्मचारीलाई जिम्मा लगाइन्छ । प्रहरीले पनि लिन नचाहेमा सर्वसाधारणलाई लैजान सूचना जारी गर्ने गरिएको छ । उनले प्रहरीको निवृत्त कुकुरलाई सर्वसाधारणले पनि लिएर गएको बताए ।  

उनले नेपाल प्रहरीमा जस्तै कुकुरको पनि दर्जा हुने भनेर बाहिरी हल्ला सत्य नभएको बताए । कुकुरलाई जथाभावी खानेकुरा खुवाउने गरिँदैन । उनीहरूलाई दैनिक छ सय ग्रामका दरले डग फुड खुवाउने गरिन्छ । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यले २०२६ सालदेखि कुकुरको प्रयोग गर्दै आएको हो । त्यतिबेला पाँच जना प्रहरीलाई कुकुरलाई अपराध अनुसन्धान तथा खोज कार्यमा प्रयोग गर्ने बारेमा तालिम लिन मलेसिया पठाइएको थियो । तालिमसँगै उनीहरूले चार वटा कुकुर ल्याएका थिए । २०३२ सालबाट कुकुरका लागि छुट्टै शाखा स्थापना गरियो । कुकुरको तालिम व्यवस्थापन र खानपानका लागि भनेर १० जना प्रहरीको दरबन्दी कायम गरिएको थियो । २०४७ सालमा कुकुर तालिम केन्द्र स्थापना गर्नुका साथै तत्कालीन पाँच विकास क्षेत्रमा क्षेत्रीय कार्यालय स्थापना गरिएको थियो । 

नेपाल प्रहरीले कुकुरको सहायताले अपराध अनुसन्धानमा सफलता पाएका कैयौँ उदाहरण छन् । महाशाखा प्रमुख गुरुङका अनुसार २०७० माघ १० गते रसुवाको पहिरोमा इन्जिनियर चेरव घिमिरे पुरिएर बेपत्ता भए । ‘रेस्क्यु’ र ‘खुस्बु’ नामक दुई कुकुरको सहयोगमा घिमिरेको शव फेला पारिएको थियो । गोरखापत्रवाट

प्रतिक्रिया दिनुहोस्