आगलागीबाट आमाछोराको मृत्यु
गोरखा,कात्तिक २६ । गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एक घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा ७५ वर्षकी कान्छी गुरुङ र उनको छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ छन् । जस्ताले छाएको गुरुङको एकतले घरमा अचानक राति आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त भएलगत्तै जगत प्र्रहरी चौकीबाट खटिएका प्रहरीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

