शिक्षा मार्फत तीन महिनामै नेपालबाट बाहिरियो ३३ अर्ब विदेशी मुद्रा, किन रोकिएन विदेश जाने प्रवृत्ति ?
काठमाडौं,कात्तिक २७ । वैदेशिक अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढिरहेको छ । नेपाली विद्यार्थीहरूको विदेश अध्ययन मोह रोकिएका छैन । यसले नेपालबाट बाहिरिने विदेशी मुद्रा पनि बर्सेनि बढ्दै गएको छ।
पछिल्लो केही वर्षदेखि विदेश अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या र सो मार्फत बाहिरिने विदेशी मुद्रा निरन्तर बढेको तथ्याङ्कले देखाउँछ । नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराएको तथ्याङ्क अनुसार तीन महिनामै करिब ३३ अर्ब रुपैयाँ बाहिरिएको छ । जुन गत आवको असोज मसान्तसम्मको तुलनामा ८४.०६ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा पनि नेपालबाट १७ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ वैदेशिक अध्ययनका लागि बाहिरिएको छ । तीन महिनाकै तथ्याङ्क हेर्दा पनि मासिक औसत १० अर्ब बढी रकम वैदेशिक अध्ययनका लागि नेपालबाट बाहिरिने गरेको देखिन्छ ।
पढाइका साथै राम्रो कमाई हुने भएपछि नेपाली विद्यार्थी विदेशिने गरेको छन् । पछिल्लो समय नेपाली विद्यार्थी विदेश अध्ययनका लागि बाहिरिने सङ्ख्या पनि बढ्दो नै छ । विशेषसरि कक्षा १२ (प्लस टु) र ब्याचलर पढेर विदेश पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या निकै बाक्लो रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भएकाले पनि नेपाली विद्यार्थीहरूको विदेश अध्ययन मोह बढ्दै गएको देखिन्छ । रोजगारीको नयाँ अवसर र आर्थिक अवस्था बलियो बनाउनै लागि नेपाली विद्यार्थी अध्ययनका लागि ठुलो सङ्ख्यामा बाहिरिएको देखिन्छ । हाल नेपाली विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, जर्मनी, न्युजील्याण्ड लगायत विश्वका धेरै मुलुकहरूमा अध्ययनका लागि जाने गरेका छन् । विशेषगरि गरी यी मुलुक नै नेपाली विद्यार्थीको रोजाइमा देखिन्छ ।
वार्षिक तथा मासिक रूपमा शिक्षा मार्फत नेपालबाट बाहिरिने ठुलो रकमले भने असर गर्ने बताइन्छ । ठुलो मात्रामा यस्तो रकम बाहिरिँदा आगामी दिनमा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्ने विज्ञहरूको भनाई छ । यसले देशको अर्थव्यवस्थापनमा समेत अल्पकालीन तथा दीर्घकालीन रूपमा असर गर्ने विज्ञको भनाई छ । शिक्षाकै लागि ठुलो रकम बाहिर खर्च हुँदा मुलुकले अन्य क्षेत्रमा गर्ने लगानी अभाव हुन सक्ने समेत बताइन्छ । ठुलो मात्रामा यस्तो रकम बाहिरिँदा आगामी दिनमा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्ने बताइन्छ ।
गत वर्ष पनि १ खर्ब ४२ करोड रुपैयाँ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि लगेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ४८.३३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भने नेपालबाट ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।

