नेपाल फर्कियो नाट्य टोली



काठमाडौं,कात्तिक २९ । उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक अभिनद्ध मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था नाट्य चेतनाले आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक अभिनद्ध तयार पारेको थिए । तनहुँमा रहेर नाट्यकर्म गरिरहेको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ, ओजस थिएटर काठमाण्डौ र आदिइत्यादि काठमाण्डौले संयुक्त रुपमा नाटक तयार पारेका थिए ।

‘संभवत हामी नेपाली नाटकमा नाटकघर चलाउने नाटककै पछिल्लो संस्था हौँ होला । हामीले पहिलोपल्ट विदेशको नाट्य यात्रा गरेको हौँ । फरक अनुभव लिने अवसर मिल्यो र फरकफरक नाट्य संस्थाहरुको सामुहिकताको एउटा प्रयास पनि उपलब्धिमूलक रह्यो भन्ने मेरो ठम्याइ हो ।’ ओजस थिएटरका संचालक एवम् अभिनद्ध नाटकका कलाकार सागर कार्कीले बताए ।

‘हामी त मोफसलमा बसेर साहित्य र नाटकको क्षेत्रमा बामे सर्दै गरेका हौँ । स्थानिय स्तरमा मात्रै सिमित हाम्रो लागि यो महोत्सव एउट ठूलो अवसर पनि थियो । हामीले नो नाट्य महोत्सवबाट धेरै कुरा सिक्ने अवसर पनि प्राप्त गर्यौँ ।’गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष एवम् नाटक अभिनद्धका कलाकार आकाश अधिकारीले आफ्नो अनुभव सुनाए ।

फरक फरक ठाउँका कलाकारहरु मिलेर नाटक तयार पार्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको ठम्याइ, आदिइत्यादिका कोषाध्यक्ष एवम् नाटक अभिनद्धका कलाकार सुशीलसिंह ठकुरीको पनि रह्यो । झण्डै २२ बर्ष पछि म अभिनयमा फर्केको थिएँ, डर पनि लागेको थियो तर सबै कलाकारहरु पेशागत कलाकार भएका कारण मैले धेरै कुरा सिक्ने अवसर पनि पाएँ र काम गर्न पनि सहज भएको कुरा कलाकार उषा केसीले बताए ।

नाटक हेरेर आफ्नो संक्षिप्त प्रतिकृया दिँदै फ्रन्सेली नाटककार तथा नाट्य प्रशिक्षक पथ्रिकले नेपाली टोलीको समसामयिक नाटकले आफ्नो ध्यान खिचेको बताए । नाट्य महोत्सवका निर्देशक एवम् नाट्य चेतनाका अध्यक्ष प्रसिद्ध भारतीय नाटककार तथा निर्देशक सुबोध पटनायकले नेपाली नाटक अभिनद्धको मञ्चनले नेपाली नाट्यमञ्चनको शैली र हामीले काम गरिरहेको लोकनाट्य शैलीको आदानप्रदान भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि नेपाली नाट्यसंस्थाहरुसँग सहकार्य गरिने बताए ।

पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक अभिनद्धमा सविना गोपाली, रविन तामाङ, आकाश अधिकारी, सागर कार्की, सुशीलसिंह ठकुरी र उषा केसीको अभिनय रहेको थियो । नाटकमा कवि सरस्वती तिमल्सिनाको छवटा कविता समावेस थियो । नारायण दंगालको संगीत संयोजन रहेको नाटकको सहायक निर्देशन रविन तामाङले गरेका थिए । नाटक महोत्सवमा भारतका बिभिन्न राज्य र नेपालको गरेर ११ वटा नाटक मञ्चन भएका थिए । नाटक टोलीलाई कलकत्तामा हाम्रो छहारी नामक संस्थाले स्वागत गरेको थियो । स्वागत कार्यक्रममा कलकत्तामा रहेका नेपाली र नेपालीभाषी साहित्यकार तथा विशिष्ठ ब्यक्तिहरु नारायण हुमागाईँ, सञ्जीव गुरुङ, राजु पाठक, गुञ्ज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। नाटकलाई माेहन बतास फाउन्डेसनले सहयाेग गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्