बालगृहमा सामूहिक भाइटीका
म्याग्दी,कात्तिक २९ । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरूले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बसोबास गर्ने कर्ण पुनको सहयोगमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको हो ।
बालबालिकाहरूलाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको पुनले बताए । म्याग्दी बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकबिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ ।

