जहाँ विद्यालय जाँदा किताब बोक्नै पर्दैन



गैंडाकोट,कात्तिक ३० । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको एक नमुना सरकारी विद्यालयले विद्यालय अध्ययन गर्न जाँदा किताब बोक्न नपर्ने अवधारण ल्याएको छ जुन अवधारणा पछि विद्यार्थी हर्षित भएका छन् । 

गैँडाकोट नगरपालिका–८ मा रहेको कालिका नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले विद्यालय जाँदा विद्यार्थीले किताब बोक्नु नपर्ने र यो विद्यालयले अध्ययन अध्यापनका लागि फरक अभ्यास सुरु गरेको प्रधानाध्यापक प्रजानाथ कँडेलले बताए । 

अहिले हरेक विद्यार्थीले विद्यालय जाँदा सकिनसकि झोलाभरी पुस्तक, कपि, कलम, खाजा हालेर झोला बोकेको देखिन्छ । बालबालिकालाई भारी बोकाउन हुँदैन भनिए पनि बालबालिका गह्रङ्गो झोला बोकेर विद्यालय जान बाध्य हुनेगरेका छन् । त्यस्तो अवस्था आउन नदिन कालिका नमुना माध्यमिक विद्यालयले किताब बोक्न नपर्ने गरी व्यवस्था मिलाएको छ ।  

सुरुवाती अवस्थामा विद्यालयमा कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको प्रधानाध्यापक कँडेलले बताए । अहिले सो विद्यालयले विद्यालयको हरेक कक्षामा बुक कर्नर बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमसहितको पुस्तकहरू उपलब्ध गराउने गरेको सहायक प्रधानाध्यापक राजु पुरीले बताए ।

यो व्यवस्था गरेपछि अहिले विद्यार्थी झोलामा कपि, कलम मात्र बोकेर विद्यालय जानेगरेका छन् । खाजा विद्यालयमा नै उपलब्ध हुन्छ । यसले विद्यार्थीलाई निकै सजिलो बनाएको कक्षा ७ मा अध्ययनरत छात्रा हरि सापकोटाले बताए । कक्षा ३ का विद्यार्थी श्याम थापाले किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो विद्यालयले बुक कर्नर बनाएपछि किताब बोक्न नपर्ने बताए ।

शैक्षिकसत्र २०८० बाट विद्यालयले यस्तो सुविधा विद्यार्थीलाई उपलब्ध गराउँदै आएको प्रधानाध्यापक कँडेलले बताए । पहिले झोला गह्ङ्गो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउनेगरेका छन् उनको भनाइ छ । 

बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तकको उपलब्धता गराउने व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक कँडेलको भनाइ छ । बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको र यो प्रभावकारी बन्दै जान थालेको छ । अरू विद्यालयले पनि सिको गर्न थालेको उनको भनाइ छ । 

अब आगामी शैक्षिकसत्र यस विधिलाई थप परिमार्जन गरी अझै सहज बनाउने  प्रधानाध्यापक कँडेलले बताए । कँडेलले अहिले विद्यार्थीको घरमा एक सेट पुस्तक छ भने उनीहरूले विद्यालयमा पनि सोही किताब पढ्न व्यवस्था रहेको बताए।

प्रतिक्रिया दिनुहोस्