खुल्यो कोरला नाका, मुस्ताङवासीमा छायो उत्साह
मुस्ताङ,कात्तिक २ । चार वर्षपछि मुस्ताङको कोरला नाका खुलेको छ । चीन सरकारले कोरोना महामारीका कारण २०७६ सालदेखि नाका पूर्ण रूपमा बन्द गरेको थियो । कात्तिक २७ गते सोमबार नाका पुनः सञ्चालनमा आएसँगै मुस्ताङवासीमा उत्साह छाएको छ । नाका सञ्चालनको पहिलो दिन ठुलो सङ्ख्यामा मुस्ताङवासीहरू कोरला पुगेका थिए ।
नाका बन्द हुँदा माथिल्लो मुस्ताङका दुई वटा गाउँपालिकाका स्थानीयको जनजीवन प्रभावित बनेको थियो । हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका समयमा नाका सञ्चालन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार चीन सरकारले कोरला नाका खुला गरेको हो । माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षित गरेर नाका सञ्चालनमा ल्याइएको बताइन्छ । सो नाकाको गत सोमबार मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र चीनको सिगात्से प्रान्तको झोम्बा काउन्टीका मेजेस्ट्री नुर्बु छिरिङले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
कोरलामा नेपालतर्फ चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ ।
नाका सञ्चालन गर्नका लागि नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङले जानकारी दिए । नाका पुनः सञ्चालन भएको खुसियालीमा चीन सरकारले माथिल्लो मुस्ताङवासीका लागि उपहारस्वरूप एक लाख केजी खाद्यान्न उपलब्ध गराइएको थियोे ।

