जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ,मंसिर १ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् । माओवादी केन्द्र तनहुँले आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले यस्तो बताए ।
विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा उनको भनाइ रहेको थियो । प्रधानमन्त्री दाहालले भने, “संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन् । प्रतिगमनका निम्ति मलजल गरिरहेका छन् ।”
परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे । पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले देशैभरि जनतासँग माओवादी अभियानले जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताए ।

