प्रधानमन्त्री प्रचण्डद्वरा उत्कृष्ट कर्मचारीलाई सम्मान
तनहुँ,मंसिर २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आँबुखैरेनी गाउँपालिकामा कार्यरत ६ जना कर्मचारीलाई सम्मान गरेका छन् । गाउँपालिका कार्यालयको नीति तथा कार्यक्रमअनुरुप शिक्षा र स्वास्थ्य क्षेत्रमा योजना सफल बनाउन योगदान गर्ने कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार आँबुखैरेनी अस्पतालको उद्घाटनपछि उत्कृष्ट काम गर्ने कर्मचारीलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरेर सम्मान प्रदान गरेका हुन् । प्रशासन शाखा प्रमुख नारायणप्रसाद ढकाल, लेखा प्रमुख नारायण ढकाल, शिक्षा अधिकृत निर्मला कुँवर, आँबुखैरेनी अस्पतालका मेडिकल अधिकृत डा.अविनाशकुमार रौनियार, जनस्वास्थ्य निरीक्षक मुकेशकुमार शाह र ल्याब टेक्निसियन अमृत पण्डितलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
कर्मचारीको काम र योगदानको मूल्याङ्कन गर्दै प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । प्रधानमन्त्रीबाट सम्मान लिन पाउँदा कर्मचारीहरु खुसी भएका छन् ।

