प्रधानमन्त्री प्रचण्डद्वारा छठको शुभकामना व्यक्त
काठमाडौं,मंसिर ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा छठ पर्वको शुभकामना दिएका छन् । उनले नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना
नेपालको तराई–मदेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराइबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाली समाजमा प्रचलित सबै चाडपर्वहरूमा आफ्नो ऐतिहासिक पृष्ठभूमि र विकास क्रमको संकेन्द्रण पाइन्छ । मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ । छठ पर्व प्रकृति र मानव जीवनबिच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । यस पर्वले प्रकृति र मानवबिचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका खेल्दछ ।
भूगोल र क्षेत्रफलको हिसाबले सानो भएता पनि भाषा, कला, संस्कृति, चाडपर्व, भेसभुसा र सभ्यताका दृष्टिले हामी नेपालीहरू विश्वमै विशाल र वैभवशाली छौँ । यो यथार्थ हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यहरूले राम्रोसँग प्रमाणित गर्दछन् । नेपालको संविधानले नेपाली समाजको बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात् गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात् गरेको छ । छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा देशमा विद्यमान चुनौतीहरूमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन हामी सबैलाई प्रेरणा मिल्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा फेरि एक पटक हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
३ मङ्सिर, २०८०
पुष्पकमल दाहाल ‘प्रचण्ड’

