टिकटक मात्रै होइन, नेपालमा ५ लाखभन्दा धेरै एप र वेवसाइटमाथि प्रतिबन्ध



काठमाडौं,मंसिर ३ । हालैमात्र सरकारले चिनिया मनोरञ्जन एप टिकटकमाथि प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा विरोध जनाउने क्रम अझै रोकिएको छैन । यसै विषयलाई लिएर सर्वोच्च अदालतमा शुक्रबारमात्रै १० वटा मुद्दा परेका छन् । ती रिट निवेदनहरु एकै ठाउँमा राखेर सोमबार (भोलि) प्रारम्भिक सुनुवाइ हुने अदालतले जनाएको छ । तर सोमबार थप मुद्दाहरु आउनसक्ने संभावना पनि छ ।

तर टिकटकमाथि मात्रै नेपालले प्रतिबन्ध लगाएको होइन । हालसम्म ५ लाखभन्दा धेरै एप तथा वेवसाइटहरु प्रतिबन्धको शिकार बनिसकेका छन् । दूरसञ्चर तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यति ठूलो संख्यामा मोबाइल एप र वेवसाइट बन्द गरिएको हो ।

२०७५ साउन १० मा कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । त्यस घटनाको अनुसन्धानबाट हत्यारा पत्ता लाग्न नसकेको भन्दै सरकारको ब्यापक विरोध भइरहेका बेला सरकारले ‘पोर्नोग्राफिक’ अर्थात् यौनजन्य एवम् अश्लील सामग्रीहरु प्रस्तुत गर्ने वेवसाइट र मोबाइल एप्लिकेशनहरु सबैभन्दा पहिले प्रतिबन्ध गरेको थियो ।

त्यसयता दूरसञ्चार प्राधिकरणले एप तथा वेवसाइटको निरन्तर अनुगमन गर्दै आएको छ । क्रिप्टोकरेन्सी, अनलाइन जुवा र डिजिटल नेटवर्किङसँग सम्बन्धित सय वटाभन्दा धेरै वेवसाइटहरुलाई पनि नेपालमा प्रतिबन्ध लगाइसकिएको छ ।

दर्ता नभएका समाचार पोर्टलहरु पनि प्रेस काउन्सिलको सिफारिसमा बन्द गरिएका छन् । यस्ता वेवसाइटको संख्या पनि १०० कै हाराहारी रहेको छ । चिनियाँ अनलाइन गेम पब्जीमाथि पनि सरकारले यसअघि प्रतिबन्ध लगाएको थियो । यो मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधिन छ ।

कडा अनुगमनमा उत्रियो प्राधिकरण

पछिल्ला ५ वर्षमा ५ लाखभन्दा धेरै वेवसाइट र एपहरु बन्द भएको भनिए पनि त्यसको सामाजिक असर धेरै परेको थिएन । तर टिकटक त्योभन्दा भिन्न छ । नेपालभित्र हुने कुल इन्टरनेट खपतको करीब ३० प्रतिशत हिस्सा टिकटकमा मात्रै खपत भइरहेको थियो । यसले इन्टरनेट सेवा प्रदायकहरुको व्यापारमा ठूलो धक्का लागेको छ ।

टिकटकलाई नाम र दाम कमाउने ‘प्लेटफर्म’को रुपमा पनि धेरैले उपयोग गर्दै आएका थिए । यस्ता हजारौं नेपालीलाई पनि टिकटक बन्द हुँदा असर पर्ने संभावना छ । तर नियाकम निकायले भने यस एपमाथिको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्ने कोसिस गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्