विद्यालयको छत खस्दा ३५ जनाको मृत्यु, निजी विद्यालयका भवन निरीक्षण गर्न आदेश
पाकिस्तान,असोज ३० । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विद्यालयको छत खस्दा ३४ बालबालिका र एक शिक्षकको मृत्यु भएपछि सरकारले प्रान्तभरिका सबै निजी विद्यालयका भवन निरीक्षण गर्न आदेश दिएको छ।
प्रान्तीय सरकारले बिहीबार अल–खैर विद्यालयको छत खस्नुको कारणबारे अनुसन्धान सुरु गरेको छ। प्रहरीले विद्यालय सञ्चालक मोहम्मद खानलाई पक्राउ गरेको छ। पेसावरका प्रहरी प्रमुख सईद अहमदका अनुसार विद्यालयको भवन संरचनात्मक रूपमा कमजोर थियो। सञ्चालकले भने हालैको वर्षाका कारण छत कमजोर बनेको बताएका छन्।
सरकारी आदेशअनुसार जिल्लास्तरीय समितिले तीन दिनभित्र विद्यालयका भवन निरीक्षण गरी प्रतिवेदन बुझाउनुपर्नेछ। निरीक्षणका क्रममा छत, पर्खाल, खम्बा, दलिन र जगको अवस्था जाँच गरी भवनलाई सुरक्षित, मर्मत गर्नुपर्ने वा असुरक्षित गरी तीन वर्गमा छुट्याइनेछ। विद्यालयको आफ्नै स्वामित्वमा रहेका र भाडामा लिइएका दुवै प्रकारका भवन निरीक्षण गरिनेछन्।
आपत्कालीन सेवाका प्रवक्ता बिलाल फैजीका अनुसार सूचना पाएको पाँच मिनेटभित्र उद्धारकर्मी घटनास्थल पुगेका थिए। भग्नावशेषबाट कम्तीमा ४० बालबालिकालाई जीवितै उद्धार गरिएको थियो। माटो र इँटाले बनेको छत खस्दा केही बालबालिकाको निसास्सिएर मृत्यु भएको उनले बताए।
घटनामा घाइते शिक्षिका महविश जमानले माथिल्लो तलाबाट ठूलो आवाज आएको केही क्षणमै छत खसेकाले विद्यार्थीलाई भाग्न चेतावनी दिनसमेत नभ्याएको बताइन्। अस्पतालमा होस खुलेपछि आफ्ना धेरै विद्यार्थीको मृत्यु भएको थाहा पाएको उनले बताइन्।
दुर्घटनामा दुई भतिजा गुमाएका मोहम्मद जमानले कक्षाकोठामा वर्षाको पानी चुहिने समस्याबारे विद्यालय सञ्चालकलाई पटकपटक जानकारी गराएको बताएका छन्। उनका नौ वर्षीय भतिजा अब्दुल र १० वर्षीय अबुजरको मृत्यु भएको थियो। अबुजरकी बहिनी सामिया भने मिठाई किन्न बाहिर गएकाले जोगिएकी थिइन्।
त्यस्तै, जाकिर उल्लाले एउटै कक्षामा पढ्ने आफ्ना दुवै छोरा गुमाएका छन्। छोरीले दुर्घटनाबारे खबर गरेपछि विद्यालय पुगेका उनले छोराहरूको कक्षाकोठा भग्नावशेषले पुरिएको अवस्थामा भेटेका थिए। भवन कमजोर हुँदाहुँदै विद्यालय सञ्चालन गर्न अनुमति दिने अधिकारीलाई समेत कारबाही गर्न उनले माग गरेका छन्।

