दौड प्रतियोगितामा भाग लिन विमान चार्टर्ड गरी चिनियाँ खेलाडी नेपाल आउँदै



काठमाडौँ,मंसिर ५ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।

नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा यही मंसिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।

उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मंसिर ७ गते पोखरा विमानस्थलमा अवरतण गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरु चिनियाँ सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले प्रतियोगितामा नेपाल र चीनका १०/१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्