गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण
काठमाडौँ,असोज ३०— सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि, पूर्वाधार, विपद् व्यवस्थापन तथा कानुन संशोधनसम्बन्धी विभिन्न निर्णय गरेको हो।
बैठकले बुढीगण्डकी नदीको बाढीबाट प्रभावित गोरखाको चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं. १ र २ लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। यस्तै, असोज ८ देखि ११ गतेसम्मको वर्षा र पहिरोबाट प्रभावित बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई आगामी तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो।
होल्डिङ सेन्टरमा नबसी निजी रूपमा अस्थायी बसोबास गर्न चाहने विपद् प्रभावित परिवारलाई वैकल्पिक व्यवस्था नभएसम्म बढीमा छ महिनाका लागि तत्काल राहतस्वरूप भत्ता उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
सरकारले जापानबाट प्राप्त हुने २९ करोड ८० लाख जापानी येन बराबरको वस्तुगत तथा सेवाजन्य आपत्कालीन अनुदान सहायता र जर्मनीबाट प्राप्त हुने दुई करोड युरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
यसैगरी, बुढीगण्डकी विकास प्राधिकरण विधेयक र राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। सामुद्रिक पारवहन सहयोगसम्बन्धी बिमस्टेक सम्झौता, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ संशोधन विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन विधेयक सङ्घीय संसद्मा पेस गर्न पनि स्वीकृति दिइएको छ।
बैठकले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति (गठन) (चौथो संशोधन) आदेश, २०८३ र दाना पदार्थ (दोस्रो संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ।
त्यस्तै, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ का प्रारम्भ हुन बाँकी दफामध्ये दफा १७ (ङ), २५ र २६ आगामी कात्तिक १५ गतेदेखि लागू गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

