प्रहरी सेवामा क्यूआर कोड सुरु
कर्णाली,मंसिर ६ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उनले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताए ।
“विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न सो कोड प्रयोग गरिएको हो”, प्रहरी नायब महानिरीक्षक ढकालले भने, “यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए-नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।”
‘सुरक्षित कर्णाली विशेष अभियान’अन्तर्गत दुई लाख २७ हजार चार २४ घरमा स्टिकर टाँस, पीडित सहायता कार्यक्रम, लालटिन अभियान, अन्तक्र्रियात्मक गस्ती, यात्रुमैत्री निःशुल्क निवेदन लेखन, नागरिक सहजकर्ता परिचालन, दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । उनले भने, “अब यहाँका नागरिकले शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि घर वा बाटोघाटो, पाटीपौवा जहाँबाट पनि प्रविधिामार्फत उजुरी दिन सक्नेछन् । उनीहरुलाई कुनै गुनासा राख्न, उजुरी वा निवेदन दिन सम्बन्धित निकाय धाउनुपर्ने छैन ।” उजुरीकर्ताको नाम भने प्रहरीले गोप्य राख्ने उनको भनाइ थियो ।

