हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको ज्यान गयो



झापा,मंसिर ६। जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो ।

उनी दिउँसो दाउरा खोज्न जंगल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जंगलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।

यसैगरी मेचीनगर नगरपालिका-११ स्थित विशाल दाहालको एकतले पक्की घर जंगली हात्तीले भत्काएको छ । स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्