पर्यटन प्रवर्द्धन गर्न सौराहामा ‘साउथ एशियन फिल्म फेस्टिवल’ हुँदै
चितवन,मंसिर ८। चितवनको पर्यटकीय क्षेत्र सौराहामा अन्तरराष्ट्रियस्तरको फिल्म फेस्टिवल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा मङ्सिर २९ देखि पुस ३ गतेसम्म ‘साउथ एशियन फिल्म फेस्टिवल’ हुने भएको हो । चलचित्रको माध्यमबाट सौराहासहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको आयोजकको भनाइ छ ।
चलचित्र र पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले सरकारसँगको सहकार्यमा फेस्टिवल आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा फेस्टिवल संयोजक विमल पौडेलले जानकारी दिए । फेस्टिवलमा नेपालसहित आठ देशका उत्कृष्ट फिल्मको प्रदर्शन र तथा अन्तरक्रियासमेत गरिने बताइएको छ । पाँच दिनसम्म चल्ने फेस्टिवलमा विभिन्न देशका फिल्म निर्माता, कलाकारबीच अनुभव आदानप्रदानसमेत गरिने संयोजक पौडेलले बताए ।
नेपालको चलचित्र उद्योगलाई माथि उठाउन गर्नुपर्ने प्रयासका बारेमा निर्माता र कलाकारबीचमा अन्तरसंवादसमेत गरिने बताइएको छ । सयभन्दा बढी स्टल रहने सो फेस्टिवलमा स्थानीय खानाका परिकारसँगै हस्तकलाका सामग्री, स्थानीय उत्पादनसँग सम्बन्धित तथा चलचित्र विकास बोर्ड तथा अन्य सिनेमासम्बन्धी संघसंस्थाको जानकारीमूलक स्टल रहने पौडेलले जानकारी दिए । रेबान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले फेस्टिवलले सौराहाको मात्र नभई मुलुककै पर्यटन विकासमा सहयोग पुग्ने बताए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिवलमा चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले समेत सहयोग गरेका छन् ।

