कोप–२८ सम्मेलनमा प्रम जानुहुने
काठमाडौं,मंसिर ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ (कोप–२८) मा नेपाली टोलीको नेतृत्व गरेर जाने भएका छन् । आगामी मङ्सिर १४ गतेदेखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा सम्मेलन हुँदै छ ।
प्रधानमन्त्री प्रचण्डले मङ्सिर १३ गतेदेखि १७ गतेसम्म कोपमा सहभागिता जनाउने प्रधानमन्त्रीका विकास व्यवस्थापन तथा वातावरणविज्ञ डा. पपुलर जेन्टल भुसालले बताए । प्रधानमन्त्रीले आवश्यक व्यक्तिलाई मात्र समेटेर भ्रमण टोली बनाउन निर्देशन दिएकाले सुरक्षाकर्मीबाहेक अन्य १० जनाजति हुने उनले बताए ।
“प्रधानमन्त्रीज्यूले जानैपर्ने र आवश्यक व्यक्तिलाई समेटेर भ्रमण टोली बनाउन निर्देशन दिएका छन् । त्यसो हुँदा सुरक्षाकर्मीबाहेक प्रधानमन्त्रीको टोली बढीमा १० जनाको हुन सक्छ,” उनले भने, “विदेश जाने भ्रमण टोलीको आधिकारिक रूपमा मन्त्रीपरिषद् बैठक बसेर निर्णय हुने छ ।”
प्रधानमन्त्रीसहित स्वकीय सचिवद्वय गङ्गा दाहाल, रमेश मल्ल, प्रधानमन्त्रीकै विकास व्यवस्थापन तथा वातावरणविद् डा. भुसाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो, वन तथा वातावरण सचिव दीपककुमार खराल र अर्थ सचिव कृष्णहरि पुस्कर जाने तयारी भएको भुसालले बताए ।
यस्तै प्रधानमन्त्रीको भ्रमण टोलीबाहेक वन तथा वातावरण मन्त्रालयबाट नीति निर्माण गर्ने व्यक्तिको छुट्टै टोली बन्ने उनले बताए । यस पटकको २८ औँ कोप महत्वपूर्ण भएकाले प्रधानमन्त्री जान लाग्नुभएको उनले जानकारी दिए ।

