नुवाकोट ककनीको  नवजीवन माविले धमाधम बेच्न थाल्यो कुखुराको अण्डा



नुवाकोट,मंसिर ९ । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ६ केउरीनीमा अवस्थित नवजीवन माध्यमिक विद्यालयले धमाधम कुखुराको अण्डा बिक्री गर्न थालेको छ ।

विद्यालयको कृषि प्रविधि ‘लर्निङ बाइ अर्निङ’ कार्यक्रम अन्तर्गत उत्पादित कुखुराको अण्डा बिक्री गर्न थालिएको विद्यालयका प्रधानाध्यापक बिनोद लामाले बताए ।

कक्षा ९ देखि १२ सम्म कृषि विषय अध्ययन अध्यापन हुने सो विद्यालयमा हाल २ सय वटा कुखुरा पालिएको छ । उत्पादित अण्डा विद्यालयीय दिवा खाजामा प्रयोग हुँदै आएकोमा पछिल्लो समय दिनहुँजसो ६ क्रेट बढी उत्पादन भएकाले बिक्री गर्न थालिएको प्रधानाध्यापक लामा बताउँछन् ।

त्यसो त विद्यालयमा कृषि विषय अध्ययनरत विद्यार्थीले विद्यालयमै बाख्रा पालन पनि गरेका छन् । अहिले विद्यालयमा १७ वटा बाख्रा छन् भने गाई ३ वटा रहेको छ । गाई भैसीबाट प्राप्त दुध विद्यालयकै होस्टेलमा रहेका बालबालिकाले खाने गर्दछन। बालबालिकाले साग सब्जी विद्यालयकै कृषि उब्जनीबाट प्राप्त गर्दै आएका छन् ।

विद्यालयको आफ्नै ८ रोपनी ३ आना जग्गा छ, भाडामा थप ११ रोपनी लिएर लर्निङ बाई अर्निङ कार्यक्रम चलिरहेको छ । विद्यालयको आफ्नो जग्गामा ६ वटा माछा पोखरी, २ वटा प्लास्टिक टनेल हाउस छ त्यसमा विद्यालयले सिजन र अफ सिजनका तरकारी लगाएर मनग्ये आयआर्जन गर्दै आइरहेको छ ।

त्यतिमात्र होइन विद्यालयले मौरी पालन पनि गर्दै आएको छ । मौरीबाट उत्पादित मह स्थानीय बजारमा बिक्री हुने विद्यालयले जनाएको छ । त्यसको अलावा विद्यालयले स्ट्रबेरी र धान खेती गर्दै आएको छ । विद्यार्थीले पढेलेखेका कुरा प्रयोगात्मक तवरले तुरुन्तै कृषि क्षेत्रमा प्रयोग गर्न पाँउदा विद्यार्थी अत्यन्तै खुशी हुने गरेको प्रधानाध्यापक लामाले सुनाए । कुल ५ सय ६२ विद्यार्थी अध्ययनरत सो विद्यालयमा २७ जना शिक्षक सेवारत छन् भने विद्यालयको शैक्षिक गतिविधिलाई लिएर नमूना विद्यालयको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन विद्यालय सफल भएको छ ।

कृषि गतिविधिलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन भैरहेको सो विद्यालयले कृषि ल्याब समेत स्थापना गरेको छ । ल्याबमा कृषिजन्य बोटबिरुवा, रोग, विषादी, बिउँबिजन लगायत सबै परिक्षण हुने गर्दछ। विद्यालयको सुविधा सम्पन्न भवन, शिक्षक विद्यार्थीको लगावले विद्यालय नमूना को रुपमा स्थापित भएको अभिभावकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्